मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३ सय बालबालिकाको उद्धार
काठमाडौँ । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३ सय बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ ।
मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बालबालिकालाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त संस्थाले सहयोग गरेको हो ।
संस्थाले यही डिसेम्बर १५ भित्र एक वर्षको अवधि मा गरेका कार्य प्रगतिको प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले उपत्यकाका १ हजार ९ मनोरञ्जन व्यवसायका रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटलमा अनुगमन गर्दा २ हजार ७०३ महिला तथा बालबालिका पाइएको जानकारी दिँदै त्यसमा १ हजार ७८३ किशोरी पाइएको बताए ।
अनुगमनका क्रममा महिला तथा बालबालिका खुलेर कुरा गर्न नपाउने पाइएको छ, ३०९ बालिका बेचबिखनको जोखिममा रहेको संस्थाले जनाएको छ ।
उपत्यकामा करिब ६० हजार महिला तथा किशोर किशोरी श्रमिकका रुपमा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रोजगार र मानव बेचबिखनका विषयमा ४५ वटा सामुदायिक अभिमुखीकरण तालीमका माध्यमबाट १ हजार ९५३ लाभान्वित गराइएको छ ।
कार्यक्रममा नेपाल स्वतन्त्र होटल, क्यासिनो र रेस्टुराँ मजदुर युनियनका महासचिव दीपक सापकोटाले सो व्यवसायलाई औपचारिक व्यवसायका रुपमा विकास गरिने जानकारी गराउँदै त्यस क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिने बताए ।
कार्यक्रममा सहभागी प्रहरी अधिकारीले सो क्षेत्रमा नियमविपरीत बालबालिकालाई श्रममा लगाउने व्यवसायीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै सेवाग्राहीबाट महिला हिंसा तथा यौनजन्य दुव्र्यवहार भएमा सम्बन्धित महिलालाई उजुरी गर्न आग्रह गरे ।
प्रतिकृया दिनुहोस