सिंहपुर पर्यटकीय गाउँ बन्दै

Kanchanpur

कञ्चनपुर । थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।

लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिपरेका छन् ।

पर्यटकलाई परम्परागत संस्कृतिका बारे जानकारी दिनका लागि युवालाई बूढापाकाले तालीम प्रदान गरी जानकार बनाएका छन् ।

बुद्धिराम चौधरीले भन ‘गाउँमा थारु संस्कृति, पहिरन र परिकारको स्वाद लिनका लागि आउने आन्तरिक र बाह्य पर्यटकसँग गरिने व्यवहारबारे युवालाई जानकारी दिने गरेका छौँ, ।’

थारु नाच, संस्कृति, रीतिरिवाज, बोलीभाषा र परिकार पर्यटक तान्ने साधनका रुपमा रहेको उनले बताए । पूरै गाउँलाई होमस्टेका रुपमा विकास गर्न पूर्व तयारीका लागि नगरपालिकाले गत आवमा १ लाख तथा चालु आवमा २ लाख सहयोग गरेको छ ।

बजारका होटल तथा रेस्टुरेन्टमा नपाइने थारु परिकार सिंहपुरको थारु होमस्टेमा पाइन्छ । स्थानीयवासी बाबुराम चौधरी होमस्टेमा एकैपटक १ सय पर्यटकलाई राख्न सकिने बताए । थारु नाचलाई नयाँ ढंगले प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिनका लागि एक महिनामै पाँचभन्दा बढी नाच टोली गठन गरिएको छ ।

झुम्रा, मघौँटा, हुर्दुडुग्वा, छोक्रा, सखिया, मुंग्रहवा नाचमा यहाँका युवालाई निपूर्ण बनाइएको छ । पर्यटकलाई राख्न छुट्टै घर निर्माणका लागि आर्थिक अभाव भएकाले दातृ निकायको खोजीमा लागेका संस्कृति समितिका संयोजक जंगबहादुर चौधरीले बताए ।

परम्परागत सीपको प्रयोग गरी पौवा, पिर्का, चक्या, कोल्ह, गैंजा, सुप्पा, खटया, व्याना, गोन्ड्री, बेर्रा, भौंका, भोक्टी वा गागरी, चटवा, डब्ला, छत्तरी, खोङ्ध्या, डेह्री, ढेंकी, ढकिया, डेलवालगायत निर्माण गरी प्रदर्शन र पर्यटकलाई थोरै शुल्कमा उपलब्ध गराउन होमस्टे सञ्चालन गरिएको चौधरीको भनाइ छ ।

थारु महिलाले लगाउने परम्परागत पहिरन फरिया, दैनाहा, झुल्वा, चोल्या, गोटबन्हा तथा गहनामा गुरिया, गटैया, ककनी, कारा, भिच्छा, मुन्द्री, मगौरी, झुम्का, झिमल्या, टर्की, वीर, टौका, सुट्या, झुम्का माला, हातमा लगाउने बिजाइत, बाजु, बाँका, टँर्या आदिको जोर जम्मा गर्न थालिएको छ ।

थारु समुदायका मुख्य चाडपर्व अष्टिम्की, अट्वारी, डस्या, डेवारी, माघी, होरीलगायतका बारेमा जानकारी दिने र यस अवसरमा पस्कने मीठा परिकार पर्यटकलाई दिने व्यवस्थाका लागि योजना निर्माण गरिएको छ ।

एक वर्षभित्रै होमस्टे सञ्चालन गरी देशमै नमूनाका रुपमा पेश गर्ने थारु जागरुक युवाको योजना छ । पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया बजारबाट झण्डै दुई किलोमिटिर दक्षिणतर्फ सिंहपुर गाउँ रहेको छ । उक्त गाउँमा ५२ परिवार थारु समुदायको बसोबास छ ।

एकान्त र शान्तरुपमा रम्न चाहने पर्यटकका लागि उक्त गाउँ गन्तव्यका रुपमा रहेको छ । गाउँको दक्षिण र पश्चिम क्षेत्रमा संरक्षण गरिएका सामुदायिक वनमा पर्यटकले चितल, बदेल, नीलगाईलगायत जनावर अवलोकनसमेत गर्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...