दोस्रोपटक भोट हालेपछि भरतपुर–१९ मतदाताले भने : हाम्रो मत खेर नजाओस्
रत्ननगर । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आइन् । उनि आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भनिन्–“दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उनको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका छन् ।
अन्य रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । “जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो”, लीलाले थपिन् । बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएर उत्साह देखिएको हो ।
तीन स्थानमा रहेका छवटा मतदान केन्द्रमा बिहान ११ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान भएको शारदानगर उमावि मतदान केन्द्रका मतदान अधिकृत गंगाधर रिमालले बताए । उनका अनुसार ११ बजेसम्म कुनै मतदान केन्द्रमा ४५ प्रतिशतसम्म र कुनैमा ३५ प्रतिशत हाराहारी मतदान भएको छ ।
त्रिपन्न वर्षीया सन्तमायाँ गुरुङले पनि यो दोस्रोपटक भोट हालिन् । खुसी छु, किन दुःखी हुनुप¥यो र अब, गुरुङले भनिन, “राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।”
उनले जितेर गएपछि वास्तै नगर्ने नेताहरुको बानी रहेको भन्दै दुःखेसो गरिन् । अहिलेसम्म अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताइन ।
बिहानभरि पानी परे पनि ९ बजेपछि भने केही रोकिएको थियो । मतदानस्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकको उपस्थिति बाक्लै रहेको छ । पत्रकारहरु पानीको परवाह नगरी समाचार संकलन गरिरहेका थिए ।
भरतपुर–१९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गर्न आए । छोरा सुर्जबहादुर गुरुङले उनलाई बोकेर ल्याएका थिए। उनि पौने १० बजे भोट हालेर फर्कीए । युवादेखि वृद्धवृद्धासम्म भोट हाल्न आएका थिए ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौँ, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौँबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिए ।
नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताउँदै यो उत्साह राम्रो भएको बताउनुभयो । उहाँले जनता जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जनप्रतिनिधि छान्न आतुर रहेको देखिएको प्रतिक्रिया दिनुभयो ।
माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुख पदका उम्मेदवार रेणु दाहालले दोस्रोपटक पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएको बताइन । घरायसी कामको दबाब र मौसमको प्रतिकूलतालाई चिर्दै सर्वसाधारण मतदानमा भाग लिएको उनको भनाइ छ ।
काँग्रेस उपप्रमुखका उम्मेदवार पार्वती शाहले भनिन्, “पहिले मतदाताले राम्ररी बुझ्न नसकेकाले समस्या भएको आवेशमा गल्ती पनि भयो, अब गल्ती हुँदैन भन्ने मतदाताको भनाइ छ ।” नहुने घटना भएपछि अब अहिले राम्रो भएको उनको भनाइ छ ।
मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताए ।
भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कूल तीन हजार ७९७ मतदाता छन् ।
जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज निर्वाचन भएको हो ।
सम्बन्धित समाचार
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
स्थानीय तह उपनिर्वाचन : कुन-कुन पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जि...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस