सार्थक बन्दैछ ‘पढाउँ अभियान’
गैरलायन्सले पनि अक्षय कोष खडा गर्न सक्ने
पोखरा । आर्थिक अभाव र गरिबीका कारण समाजमा शिक्षा लिनबाट बञ्चित भएका छात्र छात्रालाई अध्ययन गराउन ‘पढाउ अभियान’ थालिएको छ । यसका लागि खोलिएको अक्षय कोषमा रकम जम्मा हुन थालेको छ ।
‘पढाउँ अभियान’ अन्तर्गत ठूलो धनराशीको अक्षय कोष स्थापना गरी लायन्स क्लवको मातहतबाट गरिब तथा जेहन्दार छात्र, छात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन वर्ष २०१७/०१८ को लागि घोषणा गरेका १ सय कार्यक्रम मध्ये महत्वपूर्ण कार्यक्रमको रुपमा अघि सारिएको ‘पढाउ अभियान’ को अक्षय कोषमा रकम पनि जम्मा हुन थालेको छ ।
यसरी सुरु भयो अभियान
डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले प्रत्येक वर्ष हजारौ गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उदेस्यले ‘पढाउ अभियान’ थालिएको बताउँछन् । ‘लायन्स तथा गैरलायन्सहरुबाट करोडौं रकम अक्षकोषको लागि प्रदान गर्ने वचन पाएका छौं । क्लव तथा डिष्ट्रिक्टका पदाधिकारीले यस अभियानलाई पुरा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन्’, उनले भने, ‘उद्योगपति र व्यापारीको समेत सहयोगको आस्वासन पाएको हुनाले पनि यो अभियान तीव्ररुपमा अघि बढाएका छौं ।’
यसअघि ‘पढाउँ अभियान’को अक्षय कोष स्थापना गर्न गभर्नर आचार्यले आफ्नो हजुर बुवा र अल्पआयुमा मृत्यु भएका जेठान चन्द्रप्रसाद पौडेलको स्मृतिमा ५/५ लाखका २ वटा छात्रवृत्ति अक्षय कोषको घोषणा गरिसकेका छन् । उनले अघि सारेको अभियानलाई सफल बनाउन क्याबिनेट अफिसर र क्लव अफिसरहरुले प्रतिबद्धता जनाउने क्रम जारी छ ।
पढाउ अभियानका प्रमुख चन्द्रकुमार केसीले अहिलेसम्म गैर लायन्सबाट स्वर्गीय भएका आफन्तको स्मृतिमा छात्रवृत्ति दिन ३० लाख भन्दा बढी रकम जम्मा भएको बताए । केसीले भने, ‘लायन्स तथा गरैलायन्स सबैले छात्रवृत्ति स्थापना गर्न चासो देखाएका छन् ।’
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले लायन्स क्लव ईन्टरनेशनल ३२५ बी १ नेपालको क्लास्टर ३ को पदस्थापन कार्यक्रममा ‘पढाउ अभियान’ लाई सफल बनाउन ५० हजारको अक्षय कोष स्थापना गर्ने प्रतिवद्धता जनाए ।
गैर लायन्सहरु पनि सहभागी हुन सक्ने यस अभियानमा अध्यक्ष पालिखेले आफ्ना बुवा स्वर्गिय दयाशंकर पालिखेको नाममा ‘दयाशंकर स्मृति छात्रवृत्ती अक्षय कोष’ स्थापनाको घोषणा गरे ।
कसले कसरी पाउँछ छात्रवृत्ति ?
आचार्यले अघि सारेको यो योजना महत्वकांक्षी योजना हो । यस अभियानअन्तर्गत ठूलो धनराशी जम्मा गर्ने र त्यसको वार्षिक ब्याजबाट प्रत्यक वर्ष सयौंलाई छात्रवृत्ति दिइने योजना बनाइएको छ । यस अक्षय कोषमार्फत जसले पनि आफन्तको स्मृतिमा नामाकरण गरी अक्षय कोष स्थापना गर्न सक्ने छन् ।
स्थापना गरिएको अक्षय कोष लायन्समार्फत सम्बन्धित व्यक्तिले चाहेको नामबाट स्थापना गरी गरिव तथा जेहन्दार छात्र, छात्रालाई प्रत्येक वर्ष प्रदान गरिने छ । यस अभियानमा लायन्स तथा गैरलायन्स समेत सहभागि हुन पाउने छन् ।
आफन्तको नाउँमा एकपटक रकम जम्मा गरेपछि प्रत्येक वर्ष जम्मा भएको रकमको ब्याजवापत आउने रकमबाट छात्रवृत्ति दिइने छ । यो निरन्तर जारी रहने छ । लायन्स अक्षय कोषमा एकपटक जम्मा गरिएको रकमबाट वर्षैपिच्छे आफुले सिफरीस गरिने फरकफरक व्यत्तिले छात्रवृत्ति पाउन सक्ने छन् ।
यो अभियान बागमति, धौलागिरी र गण्डकी अञ्चलमा सञ्चालन गरी हजारौंलाई पढाउने योजना बनाइएको छ । यो योजनामा लायन्स र गैरलायन्सले पनि छात्रवृत्ति कोष खडा गर्न सक्ने छन् ।
प्रतिकृया दिनुहोस