धनकुटाका वनहरुमा आगलागीका घटना बढ्दै, घाँस पलाउने बहानामा आगो नलगाउन अपिल

धनकुटा । धनकुटाका सामुदायीक वनहरुमा हुने आगलागीका घटना बढ्न थालेका छन् । हिजो मात्रै पनि दर्जनौं ठाउँहरुमा आगलागी भएका छन् ।
धनकुटा नगरपालिका वडा नं. ४ स्थित वाग्ले सल्लेरी वनमा सोमबार साँझ ५ बजेदेखि लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । चुरेघाटी पाखामा रहेको पानी पम्प स्टेशन छेउदेखि सुरु भएको आगो प्रहरी, नेपाली सेना र स्थानीयले रातभर नियन्त्रणको प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।
वनमा लागेको आगो नियन्त्रण गर्न नसकिएपछि वस्ती नभेट्नेगरी अग्नी रेखाहरु कोरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
यता, सोमबार मात्रै धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ३ सिँहदेवीस्थित लाल बहादुर कट्वालको नीजि वनमा आगलागी भएको छ । आगलागीको सुचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पाख्रिबासका प्रहरी वरिष्ठ नायव निरिक्षक नारायण प्रसाद भट्टराईको कमाण्डमा खटिएको टोलीले आगलागी नियन्त्रणमा लिएको छ ।
त्यसैगरी साँढे ५ बजेतिर धनकुटा नगरपालिका वडा नं. १ हिले स्थित खरायो टि–स्टेटमा पनि आगलागी भएको छ । धनकुटा नगरपालिका वडा नं. ४ स्याउलेस्थित सेउले सामुदायिक वनमा पनि आगलागी भएको छ भने धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ४ थाक्ले स्थित अरुण पिप्ले सामुदायिक वनमा आगलागी भएको छ ।
यता धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर ७ घण्टे स्थित विलेनी सामुदायिक वनमा पनि आगलागी भएको छ । धनकुटा नगरपालिका वडा नम्बर ८ टेकुनालामा पाखो बारीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
खासगरी घाँस पलाउने भ्रममा वनजंगलमा आगो लगाइने गरिएको छ । जसका कारण वस्तीमा आगो फैलिएर धनजनको क्षति हुनसक्ने र जीवजन्तुको विनास हुने हुँदा आगो नलगाउन प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ लगायतले सार्वजनिक रुपमा अपिल गरिरहेका छन् ।
तर, पछिल्ला केही दिनयता आगलागीका घटना बढ्न थालेपछि पर्याप्त पानीको अभाव, दमकल नजाने ठाउँमा आगलागी हुने आदी कारणले आगलागी नियन्त्रण प्रभावकारी बन्न सकेको छैन । धनकुटाका विभिन्न स्थानमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस