पत्रकार सुरेश रजकको हत्याको विरोधमा देशभर प्रदर्शन, धनकुटामा पनि हातमा कालो पट्टी बाँधेर गरियो विरोधसभा

धनकुटा । राजावादीहरुको अराजक आन्दोलनको सिकार बनेका पत्रकार सुरेश रजकको हत्याको विरोधमा देशभर प्रदर्शन भएको छ । पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरु पनि आन्दोलित भएका छन् ।
शुक्रबार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा देशभरका पत्रकारहरु आन्दोलित भएका बेला धनकुटा पत्रकार र नागरिक समाज आन्दोलनमा उत्रिएका हुन् । साथै उनहिरुले विभिन्न सञ्चार गृहमा तोडफोड गरिएको भन्दै आज पत्रकार महासंघ धनकुटाले विरोधसभा आयोजना गरेको हो ।
हातमा कालो पट्टी बाँधेर विरोधमा उत्रिएका पत्रकार र नागरिक समाजका अगुवाहरुले पत्रकारलाई जिउँदै आगो लगाएर हत्या गर्ने र सञ्चार माध्यममाथि तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । आगामी दिनमा यस्तो घटना नहोस् भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका उनीहरुले पत्रकारको सुरक्षाको ग्यारेन्टी सरकारले लिन सक्नुपर्ने उल्लेख गरे ।
सो विरोध सभामा नेपाल पत्रकार महासंघका सल्लाहकारहरु सन्जय सन्तोषी राई,राजेश्वरबहादुर श्रेष्ठ, विजय सन्तोषी राई, रमेशचन्द्र अधिकारी, तिलविक्रम चेम्जोङ, भेषराज कट्टेल, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे, प्रेस चौतारी नेपालका अध्यक्ष नारायण आठपहरीय राई, सामुदायीक वन उपभोक्ता महास.घ धनकुटाका अध्यक्ष निलबहादुर थापा, सामाजिक अभियान्ता जेपी भुजेल, दलित अधिकारकर्मी गोपाल बहादुर विश्वकर्मा, पुराना राजनीतिकर्मी आनन्द सन्तोषी राई लगायतले जुनसुकै आन्दोलनका नाममा पत्रकार र पत्रकारका संस्थामाथि गरिने हत्या, आक्रमण र अपमान स्वीकार्य नहुने कुरामा जोड दिए ।
सो विरोधसभामा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले पत्रकार महासंघको ७० औं स्थापना दिवस मनाउनुपर्नेमा विरोध सभा गरिनु आफैंमा दुखद भएको बताउँदै अराजक आन्दोनबाट मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने माग गरे ।
यसैबीच नेपाल पत्रकार महासंघ धनकुटा शाखाले विज्ञप्ती जारी गर्दै पत्रकार सुरेश रजकको हत्याको विषयमा सत्यतथ्य छानविनको माग गरेको छ । महासंघ धनकुटा शाखा सचिव हरिबहादुर लम्जेलले जारी गरेको विज्ञप्तीमा उचित वातावरणमा काम गर्ने अवस्थाको सिर्जना गर्न सरकार, सुरक्षा निकाय र सरोकारवाला सबैमा अपिल गरिएको छ ।
प्रतिकृया दिनुहोस