नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०स्१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन भएको पारिवारिक सदस्य रुद्र बरालले बताए ।
भारतको असममा १९८९ सालमा गुवाहाटी टकौबारीमा जन्मिएका उनको ‘बसाइँ’ चर्चित उपन्यास हो । ‘ब्रह्मपुत्रको छेउछाउ’ बाट उनले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए ।
उनका ‘दोबाटो’, ‘माग’ तथा ‘शुरुको शुरु’ नाट्य कृतिहरू समेत प्रकाशित छन् । उनका ‘अतृप्त’, ‘प्रतिध्वनिहरु विस्मृतिको‘’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।
१६ वर्षको उमेरमा प्रकाशित पहिलो कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यजगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भयो ।
पछि साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि यो कृति सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल भयो । पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ । त्यसपछि पनि उनका ‘अतृप्ति’, ‘ब्रह्मपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यासहरू प्रकाशित भए ।
उपन्यासका अतिरिक्त आख्यानको क्षेत्रमा उनका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ कथा कृतिहरू समेत प्रकाशित छन् । उनको हालै सबै उपन्यास एकसाथ ‘समग्र उपन्यास’का रुपमा प्रकाशित भएको थियो ।
उनले आफ्नो जीवनकालमा नेपाल तथा भारतका प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गरेका थिए । जसमध्ये मदन स्मारक व्याख्यानमाला सम्मान, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री पुरस्कार, बसुन्धराश्री पुरस्कार लगायत रहेका छन् ।
उनले भारतको प्रतिष्ठित पद्मश्री समेत भारतीय राष्ट्रपतिबाट सन् २०२० मा प्राप्त गरेका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।
प्रतिकृया दिनुहोस