धनकुटामा विभिन्न कार्यक्रम गरि मनाइयो ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस
राजनीतिक दलका नेतासहित सरोकारवालाहरुले गरे ११ बुँदे धनकुटा घोषणा पत्रमा हस्ताक्षर

धनकुटा । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएका हुन् ।
सो अवसरमा धनकुटामा धनकुटा नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनालको सभापतित्वमा भएको सो कार्यक्रमको संविधानसभा सदस्य लिला सुब्बाले उद्घाटन गरिन् ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, कोशी प्रदेशका पूर्व सदस्य हिमादेवी बस्नेत, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, शिक्षा विकास समन्वय इकाई धनकुटाका इकाई प्रमुख मोहन राई लगायतले बोलेका थिए ।
सो कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालले कार्यपत्र प्रस्तुत गरिन् भने विभिन्न विषयमा बहससमेत भएको थियो । सो कार्यक्रममा कार्यपालिका सदस्य मनकला लिम्बुले स्वागत गरेकी थिइन् ।
यता, ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा धनकुटामा रहेका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालय र जिल्लामा रहेका राजनीतिक दलहरुले धनकुटामा ११ बुँदे घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा लैंगिक समानताका लागि धनकुटा घोषणापत्र २०८१ मा उनीहरुले हस्ताक्षर गरेका हुन् ।
सो घोषणापत्रमा आगामी निर्वाचनमा प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र स्थानीय तहमा प्रमुख वा अध्यक्ष र वडााध्यक्ष पदमा कम्तीमा ३३ प्रतिशत महिला निर्वाति सुनिश्चित गर्न राजनीतिक दलहरुलाई साझा प्रतिवद्धताका लागि आव्ह्वान गर्ने, राजनीतिक दल, विभिन्न प्रशासनिक निकाय, साुमदायीक विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, सामाजिक संघ संस्था, उपभोक्ता समिति, टोल विकास समिति, लगायतका संस्थाहरुमा प्रमुख पदसहित कम्तीमा ३३ प्रतिशत महिला नेतृत्व स्थापित गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी समावेसी विकासको लागि गैर सरकारी संस्थाहरुसँगको समन्वय र सहकार्यलाई थप सुदृढ गरिने, कार्यस्थलमा हुन सक्ने यौनजन्य दुव्र्यवहारबाट पिडित सेवाग्राहीलाई संरक्षण गरी कार्यालयमा सुरक्षित, स्वच्छ, मर्यादित र लैङ्गिकमैत्री बनाउन कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ अनुसार यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सवैले पालना गरिने, संघ, प्रदेश तथा स्थानीय सरकारबाट प्रवाह गरिने सेवालाई पारदर्शी, जवाफदेही र उत्तरदायी रुपमा प्रवाह गरिने लगायतका घोषणापत्रमा उल्लेख गरिएको छ ।
सो घोषणापत्रमा संविधानसभा सदस्य लीला सुब्बा, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेकपा एमालेका केन्द्रिय सदस्य शकुन्तला बस्नेत, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य विष्णुमाया कन्दङ्वा, जनता समाजवादी पार्टी जसपा नेपाल धनकुटा अध्यक्ष पार्वती राई, जसपा धनकुटा अध्यक्ष मनकला लिम्बुु, नेकपा एकीकृत समाजवादीका मनोज राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पाखरेल, कोशी प्रदेशका पूर्व सदस्य हिमादेवी बस्नेत, शिक्षा विकास समन्वय इकाई धनकुटाका इकाई प्रमुख मोहन राई, गैरसरकारी संस्था महासंघका अध्यक्ष मीन सुवेदी लगायतले हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस