भुकम्पपीडितको टहरामाथि खस्यो पहिरो, एकै परिवारमा ३ जनाको मृत्यु
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको हो । उनीहरु भूकम्प पीडित हुन् । भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिक पर्दछ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाका अनुसार अस्थायी टहरोमा पहिरो खसेको जानकारी प्रहरीले आज बिहान ७ः५० बजे पाएको थियो । त्यसपछि इन्सपेक्टर माधवप्रसाद चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको थियो ।
प्रहरी टोली बिहान नौ बजे घटनास्थल पुगेर शव बाहिर निकालेको थियो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।
प्रतिकृया दिनुहोस