धरानमा चर्किदै खानेपानी शुल्क तथा महसुलविरुद्ध आन्दोलन, साम्पाङले गरे ३० सेकेन्डको सम्बोधन
काठमाडौं । धरान उपमहानगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ । महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरु उपमहानगर परिसरमा छिर्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो ।
आन्दोलन चर्किरहेका बेला धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले पहिलो पटक राजनीतिक दलको आन्दोलनलाई सम्बोधन गरेका छन् । सशस्त्र, जनपद र नगरप्रहरीको सुरक्षा घेराभित्र उभिएर हातेमाइकबाट बोल्दै आन्दोलनरत पक्षलाई सम्बोधन गरे ।
उनले आन्दोलनरत पक्षलाई सम्बधोन गर्दै भने, ‘यी विषयहरूमा छलफल गरौँ । त्यसका लागि चाहिँ आँउदो आइतबार ११ बजे १० दलका एक/एकजना प्रतिनिधि वार्तामा आउनेगरी तपाईंहरू नगरपालिका आइदिनु होला । र, सम्पूर्णलाई हामीलाई सचेत र सजग गराउनु भएकोमा धन्यवाद दिन चाहान्छु । यहाँहरू सबैको जय होस, नमस्कार जय धरान ।’
धरानको समग्र विकास निर्माण, धरानको समस्या समाधान र दीर्घकालीन योजनाबारे दलहरूसँग खासै सहकार्य, समन्वय र सम्बन्ध बनाउन हिचकिचाउँदै आएका मेयर साम्पाङले बिहीबार दिउँसो १ बजे सम्बोधन गरेका थिए । तर दलहरूले भने उनको यो करिब ३० सेकेन्डको सम्बोधन चित्त बुझ्दो नभएको भन्दै खानेपानीको महसुल र शुल्क वृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने बताए ।
यसअघि २०७५ सालमा मञ्जु भण्डारी कार्यबाहक मेयर रहेका बेला पनि धरानमा खानेपानीको महशुल वृद्धि भएको थियो । त्यसबेला महशुल वृद्धिविरुद्धको आन्दोलनमा साम्पाङ आफैं पनि सक्रिय थिए । आन्दोलनरत पक्षले बिहान १० बजे नै नगरपालिका कार्यालय घेराउ गरेकाले कुनै पनि कर्मचारीहरू छिर्न पाएनन् । तर मेयर साम्पाङ भने एक घण्टाअघि नै कार्यकक्षमा पुगिसकेका थिए ।
बाहिर उनीविरुद्ध नाराबाजी गर्दै आन्दोलनरतपक्षले राजीनामा मागिरहेका बेला उनले आफ्नो फेसबुकमा लेखेका थिए, ‘१० हजार लिटर पानीको महसुल मासिक १३० देखि १५० सम्म पुर्याउँदा महिनाको २० वृद्धि भयो १ त्यो २० को विरुद्ध अहिले आन्दोलन गर्दै नगरपालिका घेरिएको छ । नारा छ, नालायक मेयर चाहिँदैन ।’यसैबीच अदालतको आदेशले खोलिएको खानेपानीको काउण्टरहरूमा विद्यार्थी समूहले विहीबार फेरि तालाबन्दी गरेका छन् । उता उच्च अदालतले साउन २८ गते दुवैपक्षलाई छलफलका लागि पनि बोलाएको छ । साउन २७ गते दलहरूसँग खानेपानी महसुलबारे मेयर साम्पाङले बोलाएको वार्ताको निष्कर्ष के हुन्छ हेर्न बाँकी छ ।
प्रदर्शनमा करिब २ सय जना सहभागी छन् । प्रदर्शनकारीले धरान उपमहानगरपालिका कार्यालयबाहिर नाराबाजी गरिरहेका छन् । महसुल वृद्धिविरुद्ध बिहीबार बिहान उपमहानगर अगाडि धर्ना दिएका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी मानबहादुर राईका अनुसार प्रदर्शनकारीहरु उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको बताए । त्यस क्रममा एक जना प्रहरी कर्मचारीको औंलामा चोट लागेको उनले बताए ।
धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए । धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको थियो । बढेको महसुलविरुद्ध १० राजनीतिक दलले विरोध गरिरहेका छन् ।
आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका थिए ।
२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको थिएन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको मेयर साम्पाङ बताउँदै आएका छन् । उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।
प्रतिकृया दिनुहोस