सिमलताल दुर्घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको छानबिन गर्न बनेको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।
असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
दुई वटा बसलाई त्रिशूलीमा खसालेको थियो । दुई वटा बसमा ६८ जना यात्रु थिए । ३ जनाले पौडिएर ज्यान बचाएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । जसमध्ये १९ जनाको मात्रै सनाखत हुन सकेको छ । ४१ यात्रु बेपत्ता छन् भने त्रिशूलीमा खसेका बस पनि भेटिएका छैनन् ।
आफू मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए । कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो । गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको समितिले मन्त्रीलाई प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण र न्यूनीकरणका लागि गर्नुपर्ने कामको सुझाव समेटिएको बताइएको छ ।
समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले कार्यान्वयनमा लैजाने बताएका छन् । प्रतिवेदन अध्ययन गरिने र सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउने उनले बताए । ‘दुर्घटना न्यूनीकरणका लागि धेरै पक्ष जिम्मेवार रहेको विषय समितिले औंल्याएको छ । जसकारण सम्बन्धित निकायमा समेत सुझाव पठाएर कार्यान्वयनमा लैजान्छौं,’ मन्त्री लेखकले भने ।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, यातायात व्यवसायी र मजदुरका प्रतिनिधि सदस्य थिए ।
प्रतिकृया दिनुहोस