सर्लाहीमा बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारीमाथि गोली प्रहार, लुटेराहरु खाली झोला लिएर भागे
वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।
कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् । कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो ।
उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
लुटेराहरुले कार्कीको साथबाट खाली झोला लिएर भागेका छन् । कार्कीले हरिवनमा रहेको सगुन सहकारीबाट ल्याएको पैसा लकरमा राखिसकेको हुनाले लुटेराले पैसा लिएर भाग्न सकेन। रितो झोलामात्र लिएर लुटेराहरु भागेका छन् ।
प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। संस्थामा जडान गरिएको सीसीटीभी फुटेज लिएर अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जनाएको छ । दिन दहाडै गोली प्रहार भएपछि स्थानियबासीहरु त्रसित बनेका छन् ।
प्रतिकृया दिनुहोस