तीन दिनमा प्रतिवेदन पठाउन गठबन्धनको चुनाव परिचालन समितिको निर्देशन
काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिले चैत २७ गते फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले २६ गतेसम्म तलका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको हो ।
समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठक बुधबार बसेको थियो । बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल गरेर जाने औपचारिक निर्णय गरेका सत्ता गठबन्धन सम्बद्ध दलहरुले स्थानीय तहमा आ-आफ्ना पार्टीको राजनीतिक र जनमत अवस्था बुझ्न प्रदेश, जिल्ला र पालिकास्तरीय संयुक्त संयन्त्र बनाएका छन् ।
मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले पौडेलको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरेको थियो । समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।
नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको बताए । ‘हामी छलफलमै छौं । विभिन्न जिल्लाहरुको स्थितिबारे बुझिरहेका छौं । तलबाट रिपोर्ट आएपछि ठोस रुपमा छलफल अगाडि बढ्छ,’ उनले भने ।
सबै ठाउँमा पाँच दलीय पार्टीका प्रमुख रहेको संयन्त्र बनेको भन्दै उनीहरु बैठक बसेर छलफल गरिरहेका भुसालले बताए । ‘केही ठाउँबाट छलफलको रिपोर्ट आएको छ । कतिपय ठाउँबाट आउँदैछ,’ उनले भने ।
प्रतिकृया दिनुहोस