मध्यरातीदेखि बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासको पनि मुल्य बढ्यो
प्रतिलिटर पेट्रोल १६०, डिजेल र मट्टितेलको १४३ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य पनि २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले निर्णय गरेसँगै अव ग्यासको मुल्य १६ सय रुपैयाँ कायम भएको छ ।
यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन ९आन्तरिक० मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।
निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने बताइएको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।
निगमका सह–प्रवक्ता पुस्कर कार्कीका अनुसार अहिले पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत रहेको छ भने मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको छ ।
अर्थात स्वचालित भएमा पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा पुग्नेछ । उता खाना पकाउने ग्यासको मूल्य भने स्वचालित भएमा २५ सय ३२ रुपैयाँसम्म पुग्न सक्नेछ ।
प्रतिकृया दिनुहोस