रामकुमारी झाँक्रीले सोधिन्, भेडेटार कटेपछि तपाईको हैसियत के छ राजेन्द्र राई सर ?

Ramkumari jhakri dkt

धनकुटा । शहरी विकासमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव रामकुमारी झाँक्रीले धनकुटाको विकासमा एमालेबाट विजयी सांसदहरु बाधक बनेको आरोप लगाएकी छन् ।

धनकुटामा आज आयोजित नेकपा एकीकृत समाजवादी धनकुटा नगरपालिका स्तरीय कार्यकर्ता भेलामा मन्त्री झाँक्रीले एमालेका सांसद राजेन्द्र राईले धनकुटाको विकास हुन नदिएको आरोप लगाइन् । उनले धनकुटाका लागि आएको सुरक्षित जनता आवास कार्यक्रमको पैसा वितरण रोकेर जनतालाई सुरक्षित घर बनाउन नदिएको बताइन् ।

मन्त्री झाँक्रीले धनकुटाको भीरगाउँमा आफुलाई जान रोक्न खोज्नु राजनीतिक चरित्र विपरित भएको बताइन् । ‘राजेन्द्र राई सर, तपाईको हैसियत भेडेटार कटेपछि के रहेछ भन्ने सबैलाई थाहा छ’, उनले भनिन्, ‘तपाईले गर्ने भनेकै भीरगाउँमा रुख काटेर बाटो छेक्न खोज्ने हो । सानो घेरामा बसेर अराजकता मच्चाउने हो । त्यही भएर जनताको बाटो छेक्न खोज्नु भयो ।’

सघन शहरी तथा भवन निर्माण आयोजनाले बनाउँदै गरेको भवनमा हतारहतारमा स्टिकर टाँस्न रहर गरेजस्तै धनकुटाको विकास गर्न रहर गर्न आग्रह गरिन् । धनकुटाबाट निर्वाचित संघीय सांसद राईले शुक्रबार धनकुटा नगरपालिका वडा नं. २ भीरगाउँमा नवनिर्मत भवनको उदघाटन गरेका थिए । जुन भवन सघन शहरी तथा भवन निर्माण आयोजनाले विभागीय मन्त्री समेत रहेकी मन्त्री झाँक्रीबाट उदघाटन गराउन खोजेको थियो ।

सांसद राईले हतार हतार शुक्रबार नै उदघाटन गरेपछि शुक्रबार राती हिलेदेखि भीरगाउँ जाने ठाउँठाउँमा रुख ढालेर बाटो अवरुद्ध गरेको थियो । सोही विषयलाई लिएर मन्त्री झाँक्रीले धनकुटाका सांसद राजेन्द्र राईको राजनीतिक हैसियत नभएको टिप्पणी गरिन् ।

उनले सो कार्यकर्ता भेलामा धनकुटामा गठबन्धन टिकाउन र गठबन्धनलाई बलियो बनाएर लैजान कार्यकर्ताहरुलाई निर्देशन पनि दिइन् । ‘धनकुटामा एमालेको दम्भ तोड्न र धनकुटाको विकासका लागि पनि गठबन्धनटिकाउन जरुरी छ’, उनले भनिन्, ‘क्लीन स्वीप गरेर चर्चा कमाएको एमालेलाई धनकुटाबाट त्यही एमालेलाई क्लिन स्वीप बनाउनुपर्छ । त्यसपछि मात्रै धनकुटाको विकास हुन्छ ।’

उनले केपी ओलीको घमण्ड र उन्मादका कारण दुईतिहाईको सरकार ढलेको र नेकपालाई टुक्रा टुक्रा भएको बताइन् । उनले आगामी स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनपछि एमालेको दम्भ सकिने टिप्पणी गरिन् ।

सो कार्यकर्ता भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज धर्मराज पौडेलले धनकुटामा गठबन्धन बलियो रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी बन्ने बताए । उनले नगर क्षेत्रभित्रका आम कार्यकर्ताहरुलाई आफ्नो जित सुनिश्चित गराउनेगरी आफ्नो क्षेत्रमा खट्न आग्रह गरे ।

धनकुटा नगर कमिटीका अध्यक्ष सुजन भाई जोशीको अध्यक्षतामा भएको सो कार्यकर्ता भेलामा पार्टीका केन्द्रिय सदस्य बंगला राई, प्रदेश कमिटी सदस्य डा. गोपालबहादुर भट्टराई, जिल्ला अध्यक्ष अर्जुन राई, युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य मनोज राई, नगर कमिटीका उपाध्यक्ष दिपेन्द्र राई लगायतले धनकुटामा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गरेर छाड्ने दावी गरे ।

सो कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव सोम राईले गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...