लामो दूरीको भाडा बढ्यो, पेट्रोलियम पदार्थमा मूल्य घट्दा भाडा पनि घट्ने
काठमाडौं । सरकारले पटक पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भइरहेपछि लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीले सरकारमाथि दबाब दिएका थिए । अबदेखि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने घट्दा भाडा पनि घट्ने विभागले जनाएको छ ।
मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम यात्रुवाहक र मालवाहकसहित भूगोलअनुसार हाल कायम भाडा दरमा थप ११ देखि १४ प्रतिशत बढाएको हो ।
अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।
२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
इन्धनको बढिरहेको मूल्य वृद्धिका आधारमा लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय गरिएको छ। यसपछि प्रदेशले पनि मध्यम र छोटो दूरीको सार्वजनिक यातायातको भाडा बढाउने छन् ।
अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित गर्न यातायात व्यवसायीले पनि सहमति जनाएका छन् । यातयात व्यवसायी महासंघले विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउँदै पहिलो पटक फागुन २५ र दोस्रो पटक ७ चैतभित्र मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो ।
डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो मागमा बेवास्ता गरेमा आफैंले भाडा समायोजन गरेर उठाउने चेतावनी दिंदै आएको थियो ।
असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । वैज्ञानिक भाडा समायोजन गर्ने सूत्रअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ ।
महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक–पटक भएको तेलको मूल्यवृद्धिलाई सरकारले नियन्त्रण गरेमा यात्रुलाई पनि सहज हुने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस