आज सत्ता गठबन्धन दलको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने
काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो ।
बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने बुझिएको छ ।आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा जित हासिल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूबिचमा छलफल हुन लागेका हो ।
वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।
यसअघि सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’
‘पहिला सबै दलको रिपोर्टिङ के कस्तो छ रु त्यो थाहा हुनुपर्यो । त्यसपछि मात्रै कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुग्न सकिन्छ’, पौडेलले भने । प्रदेश, जिल्ला र स्थानीय तहको कुरा नबुझि कांग्रेसले माथिमाथिबाट निर्णय नगर्ने पौडेलको भनाइ छ ।
सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । महानगर र उपमहानगरको हकमा केन्द्रबाटै तालमेलको निर्णय हुने देखिएको छ ।
प्रतिकृया दिनुहोस