यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाही बलरा नगरपालिका ३ का संजिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय भूमि आयोगको सदस्यमा तानसेन–४ पाल्पाका भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई तोक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार सरकारले चीन सरकारसँग भएको ‘इप्लीमेन्टेसन एग्रिमेन्ट अफ चाइना एड अन आयल एन्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने र नेपाल–चीन सरकारबीचको ग्रेड आबद्धता सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गरेको छ ।
त्यस्तै सरकारले कतारमा मार्च २६ र २७ मा सम्पन्न हुने दोहा फोरमको २० औं सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमणमा समर्थन गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायको यही चैत १८ देखि २७ गतेसम्मको भारत भ्रमण स्वीकृत गरेको छ ।
प्रवक्ता कार्कीले सरकारले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र डा. जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको पनि बताए ।
सरकारले चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जना सहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, लोकसेवा आयोग तथा न्यायसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकितत द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस