संकटमा आयल निगम : इन्धनको खपत घटाउन आइतबार बिदा र जोरबिजोरको प्रस्ताव
काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो ।
छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न, जुनसुकै किसिमका सवारी साधनमा पूर्ण सिट क्षमतामा यात्रुहरु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउन पनि सार्वजनिक आह्वान गर्न सुझाव दिइएको छ ।
इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ । रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर माथि कारोबार भइरहेको छ । जसले गर्दा निगमलाई घाटा चुलिँदै गएको छ ।
पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ ।
बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतीय सवारी साधनको आयातलाई प्रोत्साहन गर्न तथा खाना पकाउने एलपी ग्यासको विकल्पमा इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहित गर्न पनि आग्रह गरिएको प्रवक्ता उपाध्यायले बताए ।
प्रतिकृया दिनुहोस