कांग्रेस बैठकमा माओवादी र एकीकृत समाजवादीको चासो
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्दैछ । तर यो बैठकले गर्ने निर्णयबारे भने कांग्रेस मात्र होइन, सत्ता साझेदार दलहरुको पनि उत्तिकै चासो छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा तीन एजेन्डा छन्, ‘स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा’, संसदीय समिति गठन र विविध ।
कांग्रेसले २९ फागुनदेखि देशभर चुनावी अभियान चलाएको छ । यसका लागि हरेक जिल्लामा केन्द्रीय सदस्यहरुलाई खटाएको छ, जसले त्यहाँको वस्तुस्थितिबारे रिपोर्टिङ गर्ने छन् । त्यसका आधारमा बैठकले चुनावी तालेमलबारे समेत निर्णय गर्ने नेताहरु बताउँछन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले लिने निर्णयमा सत्ताझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चासो छ । किनकी कांग्रेसले निर्णय नगरेकै कारण आगामी चुनावमा गठबन्धन हुने वा नहुने र भइहाले कस्तो मोडालिटीमा हुने भन्ने टुंगिन बाँकी छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकसम्म पर्खिन आग्रह गरेका थिए । त्यसैले कांग्रेसको शुक्रबार बस्ने बैठकले गर्ने निर्णयमा सत्तारुढ दलहरुको चासो छ ।
भरतपुर महानगरपालिकामा के हुने भन्नेबारे चितवन कांग्रेसले भनेर केही नहुने र त्यो विषयमा केन्द्रबाट निर्णय हुने प्रचण्डको भनाइ छ ।
तर कांग्रेसमा चुनावी तालमेलबारे केन्द्रबाट निर्णय गर्न नहुने मत बलियो छ । डा. शेखर कोइराला समूहले तालेमलबारे निर्णय गर्ने अधिकार तल्लो कमिटीलाई दिनुपर्नेमा जोड दिएको छ । देउवा समूहकै कतिपय नेताहरु पनि देशभर नभई आवश्यकताका आधारमा चुनाव तालेमल गर्नुपर्ने मत राख्छन् ।
प्रतिकृया दिनुहोस