प्रधानमन्त्री देउवाले दिए भूमिकालाई बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन् ।
समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हक अधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो । नेपालीले यो पुरस्कार जितेको लगातार दोस्रो वर्ष हो । सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाएकी थिइन्
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्नुभएकोमा हार्दिक बधाई ।’
काठमाडौंको नैकापमा जन्मिएकी तेस्रो लिंगी अर्थात् ट्रान्सजेन्डर भूमिकाले ट्रान्सजेन्डरसँगै समलिंगीको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् । उनी ब्लु डाइमण्ड सोसाइटीमा आबद्ध भएर काम गर्दै आएकी छन् ।