साना दललाई पूरानै चिन्ह दिने आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले साना ७३ दललाई पहिलेकै निर्वाचन चिह्न प्रदान गर्न परामर्श थालेको छ । राष्ट्रिय पार्टी बाहेकले स्वतन्त्र चिह्नबाट निर्वाचनमा भाग लिनुपर्ने स्थानीय तह निर्वाचन ऐनको प्रावधान ‘अन्यायपूर्ण’ रहेको भन्दै साना दलले विरोध गरेपछि आयोगले साना दललाई पुरानै चिह्न दिने तयारी गरेको हो ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ (६) अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै आफ्नो चिह्नबाट निर्वाचनमा सहभागी हुन पाउँछन् ।
आयोगले ०७४ को स्थानीय निर्वाचनमा साना दललाई एकपटक भन्दै पार्टीकै चिह्न प्रदान गरेको थियो । यसअघि लिएकै चिह्नबाट निर्वाचनमा भाग लिन पाउनुपर्ने माग साना दलले राखेका छन् । आयोग पदाधिकारीसँग ठूला दलसहित शुक्रबार बसेको बैठकमा स्वतन्त्र रूपमा निर्वाचन लड्नुपर्ने प्रावधानको साना दलले विरोध जनाएका थिए ।
साना दलको माग सम्बोधन गर्न आयोगले कानुन उल्लंघन गर्दै उनीहरूकै चुनाव चिह्न दिने वा निर्वाचनमा भाग लिन निवेदन दर्ता गरेका दललाई एउटा स्थानीय चुनावमा एउटै स्वतन्त्र चिह्नबाट उम्मेदवारी दिन लगाएर सहभागी गराउनेमध्ये एउटा विकल्पमा रोजाउन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ (६) मा निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्यालाई आधार मानिने उल्लेख छ । अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई भने निर्धारण गरिएका निर्वाचन चिह्नहरूको समूहबाट निर्वाचन अधिकृतले प्रदान गर्ने प्रावधान दफा २६ (७) मा छ ।
प्रतिकृया दिनुहोस