आज विश्व उपभोक्ता अधिकार दिवस : उपभोक्तालाई छैन अधिकार
काठमाडौं । मुलुकभर आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । नेपालले यो वर्ष उपभोक्ता अधिकार दिवसमा ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ भन्ने नारा अघि सारेको छ ।
उपभोक्ता हकहितको संरक्षण गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्रीले शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।
उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले उपभोक्ता अधिकारसँग सम्बन्धित कार्यक्रम गरेर आज यो दिवस मनाउँदैछन् । यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो ।
यसैको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ । यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारणसभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो। सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् ।
उपभोक्ता अधिकारका अन्तरनिहीत आधारभूत चार सिद्धान्तमा प्रत्येक उपभोक्ता आफैं सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरुक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो ।
वस्तु वा सेवाका उत्पादक, प्रदायक वा बिक्रेता उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ, उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्तालाई अधिकार निक्षेपण गरिनुपर्छ र बजारमा उपभोक्तालाई सम्मान गरिनुपर्छ । संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।
त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।
विश्व उपभोक्ता दिवस मनाइरहँदा नेपालमा भने उपभोक्ता सधैं ठगीमा पर्ने गरेको पाइएको छ । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैं मारमा पर्ने गरेका समाचारहरू सार्वजनिक भइरहेका हुन्छन् । स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो ।
उपभोग्य वस्तुहरूमा हुने मिसावटले गर्दा उभोक्ताहरूको स्वास्थ्य जोखिममा पर्ने गरेको छ। स्वस्थकर जीवन बाँच्न पाउने नागरिकको अधिकार हो । उपभोक्ताको अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकको रूपमा राखिएको छ । जसमा उल्लेख छ, ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ। गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’ उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा उल्लेख भए तापनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिन्छ ।
उपभोक्ता संरक्षण ऐन २०५४ लाई खारेज गरेर २०७५ सालमा उपभोक्ता हित संरक्षण ऐन जारी भएपछि उपभोक्ता अधिकारको सुनिश्चितता बढेको उपभोक्ता आन्दोलनमा लामो समय बिताएका अधिकारकर्मीहरु बताउँछन् । छरिएर रहेका दर्जन बढी संस्था र व्यक्तिबाट उपभोक्ता पैरवीका कामहरु गतिविधि भइरहेको र अब एकले अर्कोको अस्तित्व स्वीकार गर्नुपर्ने अर्का अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् ।
उपभोक्ताको अधिकारको बारेमा सचेत गराउन तथा कानुनको कार्यान्वनका लागि दबाब दिन हरेक वर्ष झैं यस वर्ष पनि नेपालमा उपभोक्ता अधिकार दिवस मनाइँदै छ । तर, यसरी हरेक वर्ष दिवस मनाइरहँदा पनि उपभोक्ताको अधिकार व्यावहारिक रूपमा स्थापित हुन नसकेको र कालाबजारिया पनि नियन्त्रणमा आउन नसकेको सरोकारवाला बताउँछन् ।
प्रतिकृया दिनुहोस