प्रचण्डले प्रकाश सपुतको गीतबारे भने, धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन
धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् ।
कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’
माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युवबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’
कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’ शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क/वितर्क,पक्ष/विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।
एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।
प्रचण्डले भने, ‘एमालेले दुई पटक संसद विघटन गर्यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन ।’ ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।
प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेको बताए । ‘चुनाव आएको छ, कांग्रेसले पनि सरकारमा जान चाहेको छ’, प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएको छ ।’
यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको उनले बताए । हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसको समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।
प्रतिकृया दिनुहोस