रुस–युक्रेन युद्ध : ५८० जना नेपालीले छाडे युक्रेन, रुसबाट हिँडेका ११ जना नेपाली अलपत्र
काठमाडौं । रुस–युक्रेनमा जारी युद्धका कारण दुवै देशमा रहेका नेपालीहरुले देश छाडेर अन्य देशमा गए बस्न थालेका छन् । युक्रेनम रहेका अधिकांश नेपालीले भने युक्रेन छाडेका छन् ।
हालसम्म युक्रेनमा रहेका करिब ६ सय जना नेपालीमध्ये ५ सय ८० जना नेपालीले युक्रेन छाडेका छन् । युक्रेनमा रहेका करिब १ सय बढी स्थायी बसोबास भएका नेपालीले भने अझै युक्रेन छाडेका छैनन् । युद्धमा विस्थापित भएका नेपालीमध्ये ४ जना भारतीय सरकारको सहयोगमा उद्धारमार्फत नेपाल आएका छन् । भारतले दुई जना हंगेरी, एक जना रोमानिया र एक जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेको हो । नेपाल फर्किएका १० जनामध्ये बाँकी छ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।
युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपाली आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको गैर आवासीय नेपाली संघ (एनआरएनए) स्लोभाकियाका प्रतिनिधि जय प्रकाश सिवाकोटीले बताए ।
जारी द्वन्द्वका कारण युक्रेनमा रहेका अधिकांश नेपालीले उद्दारका लागि सरकारलाई आह्वान गरेका थिए । युक्रेनमा नेपालको दूतावास नरहेकाले त्यहाँ रहेका नेपालीलाई सिमाका देशमा रहेको राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको थियो ।
युक्रेनमा रहेका ८० प्रतिशत नेपालीहरुले युक्रेनलाई ट्रान्जिट प्वाइन्ट रुपमामा रोजेको देखिएको छ । उनीहरुलाई बाहिर निस्कनका लागि यो समय उपयुक्त हो । धेरै नेपालीहरु युक्रेनमा आएर छ महिनापछि पश्चिमी युरोपमा छिर्ने सोच बनाएर आएका हुन्छन् । उनीहरुका लागि यो समय अझ उपयुक्त बनेको छ । यसकारण पनि अहिले धेरै नेपालीहरु युक्रेन छाडेर अन्य देश गएपछि दूतावासहरुको सम्पर्कमा आएका छैनन् ।
रुसबाट हिँडेका ११ जना नेपाली लिथुआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले उद्धारको लागि पहल गरिदिन आग्रह गरेको (एनआरएनए) स्लोभाकियाका प्रतिनिधि सिवाकोटीले बताए । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ ।
प्रतिकृया दिनुहोस