मलेसियाको श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रिस्तरीय निर्णय गरेका छन् ।
मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ ।
कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुन: सुरु गर्ने निर्णय गरिएको हो ।
प्रतिकृया दिनुहोस