निर्वाचन आयोगले आज १७ राजनीतिक दलसँग छलफल गर्दै
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाएको छ। आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिने भएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको चुनाव घोषणा गरेको फागुन २४ गते एक महिना पुगिसकेको छ । यस अवधिमा आयोगले गरेका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिकाबारे छलफल गर्न आज विहान ११ बजे बैठक बोलाएको छ । बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुँदैछन ।
बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई डाकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।
ती दलका सम्बन्धमा आयोगले जाँचबुझ अन्तिम चरणमा पुर्याएको र स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूको नाम सार्वजनिक गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी ३० २०७९ साल वैशाख ३० का लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
प्रतिकृया दिनुहोस