संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत् महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्नुहुने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका हुन् ।
नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।
प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा बिना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको बताउँदै नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ भनी उल्लेख गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धन क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थाहरूमा शुभकामना व्यक्त गरे ।
प्रतिकृया दिनुहोस