आज प्रतिनिधिसभाको बैठक बस्दै, महाअभियोग प्रस्ताव अघि बढ्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभाको बैठकअघि बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताए ।
गत बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्ताव अघि बढ्ने बताएका थिए । त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ ।
यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले बताए । सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।
प्रतिकृया दिनुहोस