राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न देउवाको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले राष्ट्रसेवक कर्मचारीको व्यवहार सरकारको व्यवहार हुने भएकोले जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने, सुशासनले नै मुलुकको विकास हुने भएकोले कर्मचारीहरु मर्यादित र जिम्मेवार हुन आवश्यक रहेको बताए । कुनैपनि सरकारको योजनाको सफलता कर्मचारीमा निर्भर रहेको उनले बताउँदै राज्यलाई अगाडि बढाउनका लागि निजामती कर्मचारी मर्यादित र अब्बल रहनुपर्नेमा जोड दिए ।
यस्तै स्थायी सरकारको रुपमा परिचित निजामती सेवा राज्य संचालनको मेरुदण्ड भएको उनले बताए । र राष्ट्रसेवकको अनुहारमा सरकार प्रतिविम्वित हुने भएकाले राष्ट्रसेवकले प्रदान गर्ने सही व्यवहार र सेवाले सरकारको छबी उच्च हुने उनको भनाइ थियो । कर्मचारीहरूलाई आफ्नो छबी स्वच्छ राख्न पनि उनले आग्रह गरेका थिए ।
जनताको सेवकको रुपमा कर्मचारीले काम गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले भने, ‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ । संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको छ । कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरुलाई सन्तुष्ट बनाउने काम गरिनेछ । जनतामा सहज ढंगले सेवा उपलब्ध गराउन पनि म कर्मचारी साथीहरुलाई आग्रह गर्दछु ।'
प्रतिकृया दिनुहोस