पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी बन्द
काठमाडौं । कमिसन वृद्धि गर्न माग गर्दै पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले गएरातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिईंदै आएको कमिसन वृद्धि नगरेको भन्दै व्यवसायीहरुले देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका हुन् ।
निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बिक्रेताले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३ दशमलव १४ प्रतिशत कमिसन पाउँदै आएका थिए । गएरातिदेखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रति लिटरमा थप शून्य दशमलव १५ पैसा कमिसन दिनुपथ्र्यो । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ ।
थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालका अनुसार बिक्रेता कमिसन यथावत राखेको भन्दै निजी पम्प सञ्चालकहरुले पेट्रोलियम पदार्थ उठाएका छैनन । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले देशभरका प्रोडक्ट डेलिभरी अर्डर पीडीओ जारी नभएको बताए ।
निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको विरोधमा एसोसिएसनले डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेको हो । घाटा चुलिएको भन्दै निगमले आफ्ना कर्मचारीको पोशाक संरक्षण खर्च समेत कटौती गरेको छ । यद्यपि, निगमले भने व्यवसायीले पेट्रोल ढुवानी नगरे अन्य विकल्प प्रयोग गरेर भएपनि आपूर्ति सहज बनाउने जनाएको छ ।
प्रतिकृया दिनुहोस