माओवादी बैठक : प्रचण्डसँगको सम्बन्ध कठिन क्षणमा पुगेको श्रेष्ठको भनाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका छन् ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष प्रचण्डले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तुष्टि पोखे ।
शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग आफ्नो २०५३ सालदेखिकै सम्बन्ध भएको बताएका छन् । तर अहिले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उनले बताए ।
उनले पार्टी अध्यक्ष प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको पनि बताए । उनले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताएका थिए । यसअघि सम्बोधन गर्दै प्रचण्डले एमसीसी ब्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको भन्दै नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।
श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए । एमसीसी अनुमोदन भएको भोलिपल्ट १६ फागुनमा पत्रकार सम्मेलन गरेका प्रचण्डले श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाइने, तर कोही सेन्टिमेन्टमा आउन जरुरी नभएको बताएका थिए । बामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा शुन्य सिट आएको भन्दै उनले भनेका थिए, ‘कसैलाई त्यही बाट हिड्न मन लाग्यो भने कसले रोक्न सक्छ र ?’
प्रतिकृया दिनुहोस