जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ
काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।
मुगुका सांसद बानियाँ बलात्कारको आरोपमा काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन थिए ।
बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता लिन महिलालाई उनले नेपालगञ्जमा बोलाएका थिए । सो होटलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ । होटलमा उनीहरुको बीचमा चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शिक्षिका समेत रहेकी पीडित महिला माओवादी निकट हुन् ।
आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस