जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता
काठमाडौं । भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।
जीटूजी व्यवस्था (सरकार) मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सो समझदारी पत्र आदान प्रदान गरे ।
यो सम्झौता ५ वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कृषि सामग्री कम्पनीका कायममुकायम प्रवन्ध संचालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्झौतामा के छ ?
तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको पालामा अघि बढेको सम्झौता कोभिड(१९ महामारीका कारण प्रभावित भएको थियो । झण्डै डेढ वर्ष पछि दुई देशबीच भएको मल खरिद सम्बन्धी सम्झौता पछि अब नेपालको कृषि सामग्री कम्पनी र भारतको सोही तहको कम्पनीबीच मूल्य र खरिदमा सम्झौता हुनेछ ।
केही दिनमै हुने सम्झौताले चैते धान, मकै र वर्षायामको धानका लागि मल आइपुग्ने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले स्वीकृत गरेर भारतसामू पेश गरेको समझारीअनुसार जीटूजीमार्फत पाँच वर्ष नेपालले भारतबाट मल पाउने छ ।
नेपालको कुल मल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी गरिएको हो । मल खरिदका लागि भएको प्रारम्भिक समझदारी अनुसार नेपाललले चार वर्षसम्म भारतबाट वर्षेनी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने छ । जसमा एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन मल डीएपी हुनेछ । समझदारीको पाँचौँ वर्षमा भने साढे दुई लाख मेट्रिकटन मल नेपालले भारतबाट ल्याउने छ ।
प्रतिकृया दिनुहोस