एमसीसी पास भएपछि प्रचण्डले भने, देश दुर्घटनाबाट बच्यो
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतरामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’ उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।
एमसीसीबारे पार्टीभित्र समेत समस्यामा परेपछि दाहालले त्यसबारे सोमबार पत्रकार सम्मेलन मार्फत् स्पष्टीकरण दिएका हुन् । ‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उनले भने,‘ त्यसैले यो निर्णयमा पुगिएको हो ।’
संविधान र लोकतन्त्रमाथि नै घात हुने देखिएपछि राष्टिय सहमतिको प्रयास गरेको उनले बताए । एमसिसीकै कारणले गठबन्धन भत्किएर नयाँ समीकरण बन्ने खतरा बढेपछि आफूहरुले एमसिसीमा समाधानको विकल्प लिएको प्रष्टाए ।
प्रचण्डले भने, ‘जनतामा यतिधेरै विवाद भएको बेलामा राष्टिय सहमति खोजेका थियौँ। केपी ओलीलाई मनाउन म बालकोट जान तयारी थिए । तर, प्रधानमन्त्रीजी जाँदा पनि ओलीले मानेनन् । उहाँहरूले सभामुख र १४ सांसद हटाउनुपर्ने अडान राखिरहे । गठबन्धनमा दबाव बढ्दै गएपछि सहमति बनाएर सकारात्मक ढंगले अगाडि जान्छौँ भनेर पत्र लेखेका थियौँ । तर, मलाई भिलेनको रूपमा लिइयो ।’
प्रतिकृया दिनुहोस