युक्रेनमा रहेका २ सय २५ नेपाली दूतावासको सम्पर्कमा, १ सय ५० पोल्यान्ड पुगे
काठमाडौं । युक्रेनमा रहेका २ सय २५ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । अहिलेसम्म २ सय २५ जना दूतावासको सम्पर्कमा आएका छन् ।
सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ ।
दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् ।
दूतावासले ट्राभल एडवाइजरी जारी गर्दै युक्रेनमा रहेका सबै नेपाली नागरिकहरूलाई सीमा नाका हुँदै रोमानीया, पोल्यान्ड, हंगेरी र स्लोभाकिया प्रवेश गर्न अनुरोध गरिसकेको छ ।
सीमा नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी एक प्रति र डिजिटल फोटो एक प्रति दूतावासले उपलब्ध गराएको ठेगानामा पठाउन भनिएको छ ।
शनिबार मात्र राहदानी लगायत अन्य कागजात नभएका १९ जनाको ट्राभल डकुमेन्ट बनाइएको दूतावासले जनाएको छ । यो समाचार तयार पार्दासम्म युक्रेनमा रहेका १ सय ५० जनाभन्दा बढी नेपालीहरू पोल्यान्ड पुगिसकेको जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले बताए ।
यसैगरी, तीन जना नेपाली स्लोभाकिया पुगिसकेका छन् । २३ जना त्यहाँको नाकामा प्रवेश गर्ने क्रममा रहेको बताइएको छ । दुई नेपाली हंगेरी पुगेका छन् भने एक जना नेपाली रोमानीया प्रवेश गरिसकेको र दुई जना प्रवेश गर्ने क्रममा त्यहाँको सिमानाकामा रहेको उनले बताए ।
पोल्याण्डले सिमानाका बाट प्रवेश गरेकालाई एक महिनाको भिसा दिने बताएको छ । साथै सीमा नाकाबाट प्रवेश गरिसकेपछि कुनै समस्या भएमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) वा नेपाली समुदायका नेतृत्वकर्ता वा अगुवाहरूलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
यता, वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै रुसले सबैतिरबाट आक्रमण गर्ने बताएको छ । रुसी रक्षा मन्त्रालयले, किभले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेपछि रूसी सेनालाई युक्रेनमा आफ्नो आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउन आदेश दिइएको हो ।
हेर्नुहोस् दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्ति
प्रतिकृया दिनुहोस