भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ
काठमाडौं । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।
भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।
प्रहरीले उनीहरुबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ । प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने, त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको तथा अन्य गैरकानुनी काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो ।
प्रतिकृया दिनुहोस