रङ्गशाला जङ्गलमा परिणत भएपछि...

Alpatra khel maidan tikapur

कैलाली । कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएकोे थियो । पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा टीकापुरले पाउनुपर्ने सफलता अझै पाउन सकेको छैन ।

टीकापुर नगर खेलकुद विकास समितिको नाममा अहिले पनि २२ बिघा जग्गा छ । सरकारले अहिलेसम्म त्यो रङ्गशालाको स्तरोन्नतिका लागि करोडको लगानी गरिसकेको छ । राज्यको करोडौँ खर्च भएको रङ्गशाला जङ्गलमा परिणत छ । निर्माण भएका संरचना पनि संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । खेलकुद क्षेत्रमा भएको राज्यको लगानीबाट अहिलेसम्म खेलाडीले फाइदा लिन सकेका छैनन् ।

यहाँ खेलकुदका गतिविधि सञ्चालन गर्न वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको खेलकुद मैदान एक विकल्पका रुपमा छ । स्थानीय सरकारदेखि अन्य सङ्घसंस्थाले आयोजना गर्ने खेलकुदका गतिविधि त्यहीँ विद्यालयको खेलकुद मैदानमा हुने गरेका छन् । केही साना खेलकुद प्रतियोगिता टीकापुरको खुला मैदानमा हुने गरेको भए पनि त्यो खेलकुदका लागि व्यवस्थित बनाउन सकिएको छैन ।

पछिल्लो समयमा टीकापुर क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएको स्थानीयवासी भरत भण्डारीले बताए । “कुनै बेला टीकापुरमा महिनैपिच्छे खेलकुद प्रतियोगिता हुनेगर्थे । भएका संरचनाको युवा आफैँ पनि सरसफाइलगायतका काम गरेको देखिन्थ्यो । अहिले त्यो हराएको छ ।”

उनले भने, “खेलप्रति खेलाडीको रुचि पनि कम भएको होकीजस्तो देखिन्छ । खेलकुदका गतिविधि नहुँदा युवा सामाजिक आपराधिक घटनामा लाग्ने हुन कि भन्ने चिन्ता बढेको देखिन्छ ।” स्थानीय सरकारको खेलकुद क्षेत्रमा खासै लगानी पनि हुन नसकेको र खेलाडीले खेलकुदमा भविष्य नदेखेकै कारण पनि खेल र खेलाडीमा कमी आएको उनको भनाइ छ । पछिल्लो समय खेलकुदका गतिविधि हुन छाडेपछि खेलाडीसमेत विस्थापित हुँदै गएका छन् ।

टीकापुर नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले खेलकुदका क्षेत्रमा टीकापुरमा थुप्रै सम्भावना भए पनि यसको सदुपयोग हुन नसकेको बताए । उनले टीकापुरमा खेलकुदको लागि पर्याप्त जग्गा भए पनि लगानी हुन नसक्दा समस्या भएको जानकारी दिए ।

टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा संरचनागत विकासको लागि नगरपालिकाले पहल गर्दै आएको दाबी गरे ।

उहाँले सानोतिनो क्षेत्रलाई भन्दा पनि रङ्गशालालाई नै निर्माण गरी अगाडि बढ्ने योजना रहेको जनाउँदै खेलाडीको विषयमा नगरपालिकाले थुप्रै कार्यक्रममा सहयोग र सहकार्य गर्दै आएको जानकारी दिए। दुई वर्ष कोरोना सङ्क्रमणका कारण नगरपालिकाले गर्दै आएको मेयर तथा उपमेयर कप सञ्चालन गर्न नसकेको र अहिलेको परिस्थितिले पनि खेलकुद क्षेत्र चलायमान नभएको नगर प्रमुख रावलको भनाइ छ ।

“रङ्गशालाको कामलाई अगाडि बढाउन खोजेका थियौँ । त्यसमा थुप्रै काम पनि भएका छन् । अन्य खेलकुद मैदानमा पनि काम नै नभएको भन्ने होइन । काम भएका छन् ।” उनले भने, “हामीले सम्भावनालाई हेरेर खेल क्षेत्रको विकासलाई अगाडि बढाउँदै आएका छौँ । कुनै प्रतियोगितामा सहभागी हुन होस् वा नगरमा हुने खेलकुद प्रतियोगितामा हामीले सहयोग र समन्वय गर्दै आएका छौँ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...