एमालेले आकस्मिक रुपमा बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।
सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लगेको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अनुचित र अनुत्तरदायी भएकाले यसले मुलुकमा हानी पुग्ने दावी गरेका छन् ।
जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस