भाँचियो अरुण नदीमा बनाइएको बेलिब्रिज, बीचमै अल्झियो ३ वटा ट्रक
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–१ वालुङ जोड्ने अरुण नदीमा बनाइएको बेलिब्रिज शनिबार दिउँसो निर्माण सामग्री बोकेका ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको हो ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएका तीनवटा लो वेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेका हुन् । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको छ । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् ।
५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । ना२क २४४ नम्बरको ट्रकका चालक रामेछापका हिकमत बहादुर सुनुवार, प्रदेश २-०३००१ ख ३१६५ नम्बरको ट्रकका चालक इटहरी सुनसरीका सुदिप चौधरी, प्रदेश २-०३००१ ख ३१९८ नम्बरको ट्रकका चालक बाराका प्रमेख चौधरीसहितका अन्य सहचालक समेत सकुल रहेका छन् ।
२०७५ सालमा इप्सुवा हाइड्रो पावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । उक्त बेलिब्रिज ५४ मिटर लामो र ३० टन क्षमताको रहेको थियो ।
ट्रकका चालक र सहचालक भने कुशल रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए ।
पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले बताए । दुईवटामा रड र एउटामा आयोजनाको टनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए ।
बेलिब्रिज भाँचिएपछि आवतजावतमा समेत समस्या भएको छ । पुल भाँचिएर भएको दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । सवारी चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस