नयाँ पार्टी खोल्ने कमल थापाको तयारी, फागुन ७ को साइत कुर्दै
काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको तयारी गरेका छन् । थापा निकटवर्तीहरुका अनुसार उनले कोरोनाको तेस्रो लहरका समयमा विधान, राजनीतिक प्रस्ताव लगायतका काम गरेका छन् ।
सोमबार भएको थापा पक्षको छुट्टै भेलामा नयाँ पार्टी गठनको विषयमा छलफल भएको हो । उक्त भेलामा थापाले आफुले उठाएका माग सम्बोधन नभए विकल्प खोज्ने र त्यसका लागि तयार रहन निकट नेताहरुलाई आग्रह गरेका थिए ।
थापाले सोमबारको भेलामा भने ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस् । म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’
भेलामा सहभागी राप्रपा पदाधिकारीहरुले भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् । यद्यपि आफूले उठाएका विषयहरु संवोधन भए राप्रपामै बस्न तयार रहेको समेत उनले बताएका छन् । सोमबार नै गृहजिल्ला मकवानपुर हिँडेका उनले जिल्लाका नेता कार्यकर्तासँग सम्वाद गर्ने छन् । त्यसपछि निर्णय लिने बताइएको छ ।
थापाले राप्रपाका पूर्वअध्यक्षद्वय लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणासँग भेटेर नयाँ दल गठनबारे छलफल गरिसकेका छन् । उनीनिकट नेताहरूका अनुसार थापाले आइतबार राणासँग र सोमबार चन्दसँग उनीहरूकै निवासमा छलफल गरेका छन् ।
थापाले सोमबार राप्रपाका पदाधिकारी तथा पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्यहरूसँग बेग्लै भेला डाकेर आफ्नो तयारीबारे जानकारी दिएका छन् । उनले बोलाएको भेलामा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, रोशन कार्की, महामन्त्री ध्रुवबहादुर प्रधान, कुन्ति शाही, नेताहरू जयन्त चन्दलगायत सहभागी थिए । थापाले निकटस्थहरूलाई बताएअनुसार नयाँ दलले पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोक्नेछ तर सँगसँगै पूर्वराजा ज्ञानेन्द्रको भण्डाफोरसमेत हुनेछ ।
सोमबार बोलाइएको भेलामा सहभागी नेताहरूका अनुसार थापाले पार्टी महाधिवेशनमा निर्मलनिवास (पूर्वराजा ज्ञानेन्द्र) को हस्तक्षेप छानबिन गर्न अध्यक्ष लिङ्देन तयार भए राप्रपामै सक्रिय हुने र लिङ्देनको नेतृत्व स्वीकार गर्ने बताएका थिए । तर, छानबिनका लागि दुईवटा चिठी पठाउँदा पनि अध्यक्ष लिङ्देनले बेवास्ता गरेको र शनिबारको भेटमा पनि त्यसबारे लिङ्देनले छलफल नै गर्न नचाहेको थापाको भनाइ थियो ।
स्रोतका अनुसार निर्वाचन घोषणा भइसकेको अवस्थामा कानुनी अड्चन नभए ७ फागुनमा नयाँ पार्टी घोषणा गर्ने तयारीमा थापा छन् । मंसिर दोस्रो साता राप्रपा महाधिवशेनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्रबाट पार्टीमा हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका थिए ।
प्रतिकृया दिनुहोस