आज सहिद दिवस : बिहान ९ बजे सहिद स्मारकमा विशेष कार्यक्रम हुँदै
काठमाडौं । आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् । सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झनामा सहिद दिवस मनाइन्छ।
माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ । बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो । कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ ।
यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार विष्णुमती नदी किनार शोभा भगवतीमा निर्माण गरिएको सहिदको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीहरुको सम्झना गरिएको छ ।
हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।
ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
यस वर्ष माघ १० गते अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा तथा दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको सालिक र पूर्ण कदका सालिक राखिएका छन् ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको जनाइएको छ ।
सहिदगेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ ।
विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । सहिदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैलाई घोषणा गरिँदा सहिदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।
प्रतिकृया दिनुहोस