गठबनधन स्थानीय तहको निर्वाचन गराउन केन्द्रित, आज गठबन्धनको बैठक बस्दै
काठमाडौं । स्थानीय तहको निर्वाचन नगराउन खोजेको भन्दै पाँच दलीय सत्ता गठबन्धनको चौतर्फी विरोध भएपछि गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ ।
निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन । पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक आज शनिबार बस्दैछ । शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।
तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ । यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् ।
प्रतिकृया दिनुहोस