पत्रकार महासंघले भन्यो, एलवी विश्वकर्माको मृत्यु हुनुमा अस्पताल दोशी छ (प्रतिवेदनसहित)
काठमाडौं । नेपाल पत्रकार महासंघले अस्पतालको लापरबाहीकै कारण पत्रकार एलबी विश्वकर्माको निधन भएको निष्कर्ष निकालेको छ ।
महासंघले उनको निधनलाई सरकारी स्वामित्वका अस्पतालमै सेवाग्राहीमैत्री सुविधा नहुनुको परिणाम भएको जनाएको छ । महासंघका केन्द्रीय सदस्य एवम् अध्ययन समितिका संयोजक रामकृष्ण अधिकारीले शुक्रबार महासंघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको औंल्याएका छन् ।
महासंघले पाटन अस्पतालले समेत संवेदनशील अवस्थामा अस्पताल पुर्याइएका बिरामीलाई गम्भीरतापूर्वक लिएर उपचार नगरेको ठम्याएको छ । माघ ६ गते पत्रकार विश्वकर्माको पाटन अस्पतालमा निधन भएको थियो । विश्वकर्माको निधनबारे अध्ययन गर्न भन्दै महासंघले पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
अधिकारीको संयोजकत्वको समितिले शुक्रबार प्रतिवेदन बुझाएको हो । मृतक पत्रकारका आफन्त, कार्यरत सञ्चारसस्था, घटनासँग जोडिएका अस्पताल र अन्य सरोकारवालासँग प्रत्यक्ष भेटघाट, संवाद र टेलिफोनमार्फत कुराकानी गरेर एक प्रतिवेदन तयारी गरी महासंघलाई बुझाइएको संयोजक अधिकारीले बताए ।
सिभिल अस्पतालको लापरवाहीका कारण उनले ज्यान गुमाएको समितिको निचोड छ । प्रतिवेदनमा भनिएको छ, ‘यसरी दमका दीर्घरोगी पत्रकार विश्वकर्माले कोभिड–१९ का लक्षण देखिएपनि बढी शुल्क भएकै कारण परीक्षण गर्न नसकेको, आइसोलेसन पिरियडमा घरमै बसेर उपचार गरेपनि पोष्ट कोभिडले शरीरमा असर पुर्याएको र अन्तिम अवस्थामा अस्पताल पुगेका उनको उपचारमा अस्पतालले लापरवाही गरेका कारण उनको ज्यान गएको देखिन्छ ।’
महासंघले सरकारी अस्पतालको लापरबाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको भन्दै उनको परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । मृतक परिवारलाई महासंघले ५० हजार रुपैयाँ राहतको घोषणा गर्दै विश्वकर्माकी श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र साढे ३ वर्षको छोराको उच्च शिक्षासम्मको जिम्मेवारी उनी कार्यरत रहेको सञ्चार गृह र सरकारले लिनुपर्ने बताएको छ ।
महासंघले सरकारले सरकारी अस्पतालमा पटक–पटक पत्रकारहरुको निःशुल्क उपचार हुने भनी घोषणा गरे पनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको बताएको छ । ‘घोषणा गर्नेमात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनका लागि महासंघ सरकारसँग आग्रह गर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।
टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको मृत्युबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन–२०७८
पृष्ठभूमि
टिभी टुडे टेलिभिजनमा कार्यरत बरिष्ठ संवाददाता लालबहादुर विश्वकर्मा (एलबी) को २५ वर्षको अल्पायुमै असामयिक निधन भयो । २०७८ माघ ५ गते बुधबार अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि बानेश्वरको निजामती (सिभिल) अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँबाट ललितपुरस्थित पाटन अस्पताल पु¥याइएका विश्वकर्माको उपचारकै क्रममा २०७८ माघ ६ गते बिहीबार बिहान ३ः०० बजे निधन भयो ।
अछामको रामारोशन स्थायी घर भएका पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सर्वविदितै छ । स्वास्थ्य उपचार नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको सन्दर्भमा नेपाल सरकारको समेत लगानी रहेको अस्पतालको लापरवाहीका कारण जो कोही नागरिकको जीवन गुम्नु पनि संविधानको भावना र मर्म विपरित हो ।
त्यसमाथी कोभिड १९ को महामारीका कारण सिंगो मानव समुदाय प्रभावित भइरहेको बेला नागरिकको स्वास्थ्य उपचारमा सरकार थप जिम्मेवार हुनुपर्ने हो । महामारीका कारण सञ्चार क्षेत्र पनि प्रभावित हुन अछुतो छैन । यसैसन्र्दभमा सञ्चारकर्ममा रहँदा रहँदै अस्पतालको लापरवाहीका कारण पत्रकार विश्वकर्माको दुखद निधन भयो ।
महामारीवाट प्रभावित सञ्चार क्षेत्र र पत्रकारहरुको स्वास्थ्य सुरक्षाका विषयमा निरन्तर वकालत गर्दै आएको नेपाल पत्रकार महासंघकै लागि पनि यो चुनौति बनेर देखाप¥यो । विश्वकर्माको निधनले आम पत्रकारहरुमा समयमै स्वास्थ्य उपचार सेवा नपाइने र कार्यस्थलमा रहँदारहँदै थप जोखिम हुन सक्ने भय सिर्जना गरेको छ ।
आम पत्रकारहरुले राज्यले तोकेको सेवा सुविधा सहितको न्यूनतम पारिश्रमिक समेत नपाइरहेको अवस्थामा एकातिर जोखिम मोलेर कार्यस्थलमा खटिनुपर्ने र अर्काेतिर बिरामी हुँदा पनि सहज उपचार नपाउने अवस्था विश्वकर्मा घटनाले चित्रित गरेको छ । यस विषय महासंघकै लागि पनि अध्ययन गर्नुपर्ने नयाँ र चुनौतिपूर्ण विषय बन्यो ।
यससम्वन्धमा महासंघले अध्ययन गर्न आवश्यक ठानेर केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा शिवराज खत्री र प्रकाश धौलाकोटी रहेको तीन सदस्यीय अध्ययन समिति गठन ग¥यो । समितिले एक सातासम्म मृतक पत्रकारका आफन्त, कार्यरत सञ्चारसस्था, घटनासँग जोडिएका अस्पताल र अन्य सरोकारवालासँग प्रत्यक्ष भेटघाट, संवाद र टेलिफोनमार्फत कुराकानी गरेर यो प्रतिवेदन तयार पारेको हो ।
घटनाका केही तथ्यहरु :
– पत्रकार विश्वकर्माको आर्थिक अवस्था कमजोर रहेको र मासिक ३० हजार आम्दानीले घर खर्च, काठमाडौंमा सँगै वसेका दुई भाईको पढाई खर्च, अछाममा रहेकी श्रीमती र साँढे ३ वर्षको छोराको जिम्मेवारी निर्वाह गर्न कठिन थियो । उनी दीर्घकालिन दम र जन्डिसका विरामी थिए । तर नियमित परीक्षण र औषधी उपचार गर्न नसक्नु उनको वाध्यता थियो ।
– यसैवीचमा पुसको दोस्रो हप्ताबाट कोभिडसँग मिल्दोजुल्दो लक्षण (ज्वरो आउने, खोकी लाग्ने जस्ता) देखिएपछि घरमै बसेर औषधी सेवन गरेको पाइयो । तर, पुस २७ मा स्वाशप्रश्वास सम्वन्धी थप समस्या भएपछि सिभिल अस्पताल पुगेका उनलाई चिकित्सकले फोक्सो र मुटुको परीक्षण गर्न सुझाएका थिए । उक्त उपचारका लागि पनि उनीसँग पैसा थिएन । त्यसवेलासम्म उनले कोरोना परीक्षण समेत गराएका थिएनन । कोरोना परीक्षण नगराउनुमा नियत भन्दा पनि परीक्षण गर्न लाग्ने शुल्क अभाव नै मुख्य समस्या देखियो ।
– गरिबी र अभावलाई नजिकबाट नियालेका विश्वकर्माको आफू विरामी भएको र उपचारमा समस्या भएको कुुरा आफू कार्यरत सञ्चारसंस्था, सहकर्मी, साथीभाई र आफन्तजन्लाई सुनाउने र सहयोग मागेका थिएनन् । र, उनलाई कसैले पनि स्वस्फूर्त सहयोग समेत गरेको देखिएन । उनले नेपाल पत्रकार महासंघलाई समेत त्यसबारे जानकारी गराएका थिंएनन् ।
– त्यसबीचमा उनले सामान्य उपचार र औषधी सेवन गरेपनि आर्थिक अभावकै कारण अस्पताल भर्ना र आधुनिक उपचारको सुविधा लिन सकेनन् । त्यहीक्रममा उनी माघ ५ गते राति श्वासप्रश्वाससम्बन्धी समस्याकै कारणले पुनः सिभिल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको देखिन्छ ।
– त्यो रात करिब साढे १० बजे अस्पताल पुगेका उनलाई करिब चार घण्टासम्म अस्पतालले आकस्मिक कक्षमा राखेर अक्सिजन दिने र सामान्य उपचार गरेको, बिल तिर्न जाँदा अस्पताल काउण्टरले कोभिड परीक्षणसहितको शुल्क रु.४१०० रुपैयाँ मागेकोमा भाई गौतमसँग रुं.३५०० मात्रै भएको बताएपछि अस्पतालले कोभिड परीक्षणबाहेक रु.३२९० असुल गरेको पाइयो । बिरामीसँग पैसा नभएको र उपचारको शुल्क असुल हुन नसक्ने अवस्था बुझेपछि अस्पतालले बिरामीको संवेदनशील अवस्था बुझेर उनको ज्यान बचाउनेभन्दा बेवास्ता र लापरवाही सुरू गरेको देखिन्छ ।
– त्यसपछि मात्रै अस्पतालले आईसीयू र भेन्टिलेटर नभएको भन्दै पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान दबाब दिएको आधारले अस्पतालले पैसा तिर्न नसक्ने अवस्था देखेपछि बाहना झिकेको देखिन्छ । अस्पतालका कर्मचारीले त्यसो गुर्नको पछाडि अस्पताल प्रशासनले सेवाग्राहीसँग बिल अनुसारको रकम लिन र त्यस अनुसारको रकम नलिए या तलमाथि परे सम्बन्धित कर्मचारीबाट नै भराउने नियम कारक देखिन्छ । बिरामीबाट जम्मा ६ सय रुपैयाँसम्म पनि केही घण्टा कुरेर लिने धैर्यता नदेखाउनु र उपचार नगर्नुले अस्पतालले उपचारका लागि आइपुगेका बिरामीको जीवन बचाउनेतिर भन्दा पनि कसरी पैसा असुल्ने भन्ने गरी निजी अस्पताल झैं मुनाफा कमाउने ब्यापारिक मनोवृत्तिका साथ अगाडि बढेको पुष्टि हुन्छ ।
– अस्पतालले रेफर गरेपछि पनि जीवनमरणको दोसाँधमा रहेका बिरामीलाई आफुसँग भएका एम्बुलेन्समार्फत् अर्को अस्पतालको आइसीयूसम्म पु-याउन मद्धत गर्नुको सट्टा १०२ मार्फत् निःशुल्क एम्बुलेन्स बोलाएर बिरामी लैजान सुझाएको देखिएका कारणले समेत सिभिल अस्पतालको लापरवाहीका कारण बिरामीको उपचारमा ढिलासुस्ती र जोखिम बढेको देखिन्छ । अवस्था गम्भीर भनेर भेन्टिलेटरसहितको आइसीयूमा राखेर उपचार गर्नुपर्ने भनीे रेफर गरेपछि सिभिल अस्पतालले आफ्नै एम्वुलेन्समा पठाएर सामान्य मानवियता पनि नदेखाएको देखिन्छ, जसकारण एम्बुलेन्स खोजीकै लागि २०-२५ मिनेट अतिरिक्त समय खपत् भएको छ ।
– त्यसपछि विश्वकर्मालाई पाटन अस्पताल पु¥याइएको थियो । त्यहाँ अस्पतालले करिब ४५ मिनेट आकस्मिक कक्षमै राखेर उपचारपछि उनलाई भेन्टिलेटरमा सिफ्ट गर्ने बेला राति करिब ३ बजे उनको निधन भयो । पाटन अस्पतालले पनि बिरामीको अवस्था हेरेर सिभिलले रेफर गरेको डकुमेन्टका आधारमा सिँधै आइसीयूमा राखेर उपचार गर्नुतिर लैजानु भन्दा इमर्जेन्सीमै राखेर उपचार शुरु गर्नु कमजोरी देखिन्छ ।
– यसरी दमका दीर्घरोगी पत्रकार विश्वकर्माले कोभिड–१९ का लक्षण देखिएपनि बढी शुल्क भएकै कारण परीक्षण गर्न नसकेको, आइसोलेसन पिरियडमा घरमै बसेर उपचार गरेपनि पोष्ट कोभिडले शरीरमा असर पु-याएको र अन्तिम अवस्थामा अस्पताल पुगेका उनको उपचारमा अस्पतालले लापरवाही गरेका कारण उनको ज्यान गएको देखिन्छ ।
– पाटन अस्पतालले उनलाई कोभिड–१९ संक्रमणको शंकास्पद बिरामीको रुपमा उपचार गरेको । र, चिकित्सकहरुले समयमै अक्सिजन र भेन्टिलेटरमा राखेर उपचार गराउन सकिएको भए जीवन बचाउन सकिने बताएका छन् ।
– पत्रकार विश्वकर्मालाई उनी कार्यरत संस्था टिभी टुडेले न्यूनतम पारिश्रमिक उपलब्ध गराए पनि अन्य श्रमजीवी पत्रकारको सेवा सुविधाका विषयमा कुनैपनि प्रवन्ध गरेको देखिएन । तर भदौ १५ देखि आवद्ध भएका उनलाई टिभी टुडेले पुस महिनासम्मको नियमित पारिश्रमिक दिएको देखियो ।
– टिभी व्यवस्थापनले आफ्नो खर्चमा आफ्ना कर्मचारीको संक्रमणात्मक रोगको परीक्षण गराउने गरेको देखिएन । कर्मचारीको स्वास्थ्य उपचार बीमा, दुर्घटना बीमा लगायतका कुनै पनि बीमा र आफना कर्मचारी/पत्रकारको योगदानमा आधारित सामाजिक सुरक्षाको ब्यवस्था समेत गरेको देखिएन । साथै, समाचार कक्ष पनि पर्याप्त मात्रामा स्वासप्रश्वासका लागि सहज हुने खालको नरहेको र गुम्सिने खालको रहेको भनी एलबीले आफ्ना अन्य केही साथीहरुसँग यदाकदा भन्ने गरेको पाइयो । दमको रोगीका लागि गुम्सिने समाचार कक्ष सहज कामका लागि उपयुक्त नहुने नै देखियो ।
– सिभिल अस्पताल प्रशासनले घटनाबारे छानबिन गर्न अस्पतालको इमजेन्सी विभागका प्रमुख प्रा. डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषवहादुर बस्नेत रहेको छानबिन समिति बनाएको देखियो ।
– सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने भनी आर्थिक वर्ष २०७८/०७९ मा उल्लेख भएपनि उक्त घोषणा कागजी पुलिन्दामात्र रहेको देखियो । सिभिल अस्पतालमा यो घोषणा कार्यान्वयनमै नरहेको देखियो ।
– इकागज डटकममा पत्रकार विश्वकर्माले नियमित लेखहरू लेखेको भएपनि त्यहाँबाट उनले अहिलेसम्म कुनै पारिश्रमिक नपाएको देखियो ।
– पत्रकार एलबी विश्वकर्मा बिरामीदेखि उपचार प्रक्रियामा पत्रकार महासंघ जानकार नभए पनि निधनपछि अस्पतालदेखि आर्यघाटसम्म नेपाल पत्रकार महासंघ पदाधिकारी तथा सदस्यको उपस्थिति नदेखिँदा परिवार तथा सञ्चारकर्मीहरुबाट प्रश्न उठाइएका छन् ।
मेडिकल रिपोटमा देखिएको तथ्य :
– STO (स्वासप्रश्वास ) बढेको, अक्सिजनको लेवल कम देखिएको ।
– Suspeted Covid (शंकास्पद कोभिड) को आशंका चिकित्सकहरुले गरेको देखिन्छ । तर एन्टिजेन र पीसीआर ( परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको देखिन्छ ।
– कलेजोमा केही खरावी देखिन्छ । (जण्डिस देखिएको)
– रगतको मात्रामा केही इन्फेक्सन देखिएको ।
– दीर्घकालीन दम र खोकी देखिएको ।
निष्कर्ष र सिफारिस
– पत्रकार एल.बी. विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्यकारण देखिन्छ । नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको छ । यसकापछि पाटन अस्पतालको समेत लापरवाही देखिन्छ ।
– स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो । तर, अरुको अधिकारकोलागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट बञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद हो ।
– यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हुने महासंघको ठहर छ ।
– महामारीका बेला अस्पतालमा भएको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।
– कोभिड–१९ महामारीका कारण सञ्चार क्षेत्र र पत्रकारहरु संक्रमणको जोखिमका बीच नागरिकलाई सूचना दिने कार्यमा सक्रिय छन् । तर, पत्रकार विश्वकर्माको निधनले आमसञ्चार क्षेत्रमा भय सिर्जना गरेको छ । महासंघले अग्रपंक्तिमा रहेर खटिरहेका पत्रकारहरुको स्वास्थ्य उपचारकालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
– महामारीका बेला हरेक नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्नु सरकारको दायित्व हो । सर्वोच्च अदालतले कोभिड–१९ बाट संक्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न ०७७ असोज १५ गते आदेश समेत जारी गरेको सन्दर्भमा महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।
– सर्वसाधारण नागरिक सरकारी तथा निजी जुनकुनै अस्पतालमा उपचारका लागि पुगेपनि पहिला उसको बाँच्न पाउने हकको सुनिश्चितता राज्यले गर्नुपर्दछ । नागरिक अगुवा संगठन समेत भएको हिसावले पत्रकार महासंघ यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
– सरकारले सरकारी अस्पतालमा पटक–पटक पत्रकारहरुको निःशुल्क उपचार हुने भनी घोषणा गरेपनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको अवस्था छ । घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनकालागि महासंघ सरकारसँग आग्रह गर्दछ ।
– टिभी टुडेसहित सञ्चार प्रतिष्ठानहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफना कर्मचारी पत्रकारहरुलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकुल पारिश्रमिक पूनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले ब्यवस्था गरे अनुसारको सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासंघ आग्रह गर्दछ । साथै, यसविषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
– पत्रकारहरुको हकहितका लागि काम गर्ने संस्था नेपाल पत्रकार महासंघ नै हो । तर, पत्रकार विश्वकर्माले आफ्नो स्वास्थ्य र आर्थिक अवस्थाबारे महासंघलाई जानकारी नै नगराएकाले महासंघले आफूलाई परीक्षण गर्ने मौकासमेत पाएन । पत्रकार विश्वकर्माको जीवन बचाउने सन्दर्भमा कुनैपनि भूमिका खेल्नबाट बञ्चित भएकोमा महासंघ दुखी छ ।
– यदि कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या छ भने पत्रकार महासंघको सम्पर्कमा आउन महासंघ आग्रह गर्दछ । महासंघलाई जिम्मेवारीवोध गराउन र पत्रकारको हकहितका लागि निरन्तर परीक्षणको मौका दिन घच्घचाउने काम गरिरहनु आग्रह गर्दछ ।
– महासंघ स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, भविष्यमा पर्न आउने समस्याकालागि थप योगदान र सक्रियताकालागि प्रतिवद्ध छ ।
– मृतक पत्रकार विश्वकर्मासँग आश्रित परिवार (श्रीमती र साढे ३ वर्षको छोरा) को हेरविचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाईको जिम्मेवारी लिनका लागि उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई महासंघ आग्रह गर्दछ ।
रामकृष्ण अधिकारी
केन्द्रीय सदस्य एवम् संयोजक
प्रकाश धौलाकोटी
केन्द्रीय सदस्य
शिवराज खत्री
केन्द्रीय सदस्य
प्रतिकृया दिनुहोस