जोर बिजोर प्रणालीको बिरोध बढेपछि हटाउने तयारीमा उपत्यकाका सिडिओ
काठमाडौँ । सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गर्दा झन् भिडभाड बढेको गुनासो आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले त्यसतर्फ ध्यानकेन्द्रित गराएका छन् ।
तीन जिल्लाका सिडिओहरूले अघिल्लो बुधबारदेखि जोर-बिजोर नियम लागू गराएका थिए। सार्वजनिक र निजी सेवा प्रदायक संघ–संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर-बिजोर नियम लागू गरेपछि बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्यधिक भिडभाड बढेको छ। सोही विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
उनका अनुसार सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर-बिजोर हटाउने तयारी गरिएको छ। ‘हामीले भिडभाड कम गर्नका लागि जोर-बिजोर लागू गरेका हौँ, एक साता पनि भयो, तर सीमित यातायातका साधन गुड्दा झन बढी भिडभाड भयो, कि त अन्य सेवा प्रदायक कार्यालयहरू पनि बन्द हुनुपर्दथ्यो,’ उनले भने, ‘यसलाई हामी आज भोलिमै सहज गराउने प्रयास गरिरहेका छौँ।’ उनले भक्तपुर र काठमाडौंका सिडिओसँग छलफल भइरहेको पनि जानकारी दिए।
प्रतिकृया दिनुहोस