सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा दुर्घटना, एक बेपत्ता, एक घाइते
काठमाडौँ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् ।
बिहिबार बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना कामदार हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको उद्धार गरि उपचारका लागि एम्बुलेन्स मार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ ।
बिहान ५ बजेको समयमा सुरुङ भित्र पेनस्टक पाइप बिछ्या्उन जानेक्रममा सामाग्री सहित चार जना कामदार चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताउए । हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ ।
सुरुङ मार्ग भित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।
एक महिनाअघि सोही आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको थियो । त्यतिबेला जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय कन्सल्ट्याण्ट इन्जिनियर अर्जुन थापाको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस