भगवती लेमिनेट्स राजस्व छली प्रकरण : कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार
काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ ।
स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँबराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ । यसरी कच्चा बिलमार्फत कारोबार गरेर उसले सरकारलाई तिर्नुपर्ने राजस्व छल्दै आएको छ । यस हिसाबले एकै वर्षमा उसले सरकारलाई २५ करोड रुपैयाँ बढीको राजस्व छली गरेको स्रोतको दाबी छ ।
भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्दै आएको छ । सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।
भगवती लेमिनेट्सले कच्चा बिलमार्फत कारोबार गर्दा भुक्तानी लिने क्रममा कम्पनीका कन्ट्री म्यानेजर विकास सिंहका नाममा चेक काट्न लगाउने गरेको छ । ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि प्रयोग गर्दै आइरहेको छ ।
भगवती लेमिनेट्सले कच्चा बिलको भुक्तानी गर्दा व्यक्तिगत नाममा लिने गरेको छ । यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिन्छ ।
भगवती लेमिनेट्सले ‘ए’, ‘बी’ र ‘सी’ स्तरका प्लाइउड उत्पादन गर्दै आएको छ । यसको मूल्य ग्रेडिङका आधारमा निर्धारण गरिन्छ । न्यूनतम प्लाइउड ‘ए’ ‘बी’ ‘सी’ ग्रेडिङको हुन्छ । ग्रेडिङ प्लाइउडको मोटाइमा निर्भर हुन्छ । ‘ए’ ग्रेडको प्लाई सबैभन्दा राम्रो मानिन्छ र यसको मूल्य अरू ग्रेडभन्दा बढी हुन्छ ।
कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गर्ने क्रमलाई निरन्तरता दिँदै आएको स्रोतले जानकारी दिएको छ ।
भगवती लेमिनेट्सका राजस्व छलीका विषय एकपछि अर्को गर्दै बाहिरिएपछि यसका प्रमुख सञ्चालक विष्णु मधगोरिया नेपाल छोडेर विदेशतर्फ गएका छन् । यसका अर्का सञ्चालक रजनिश कर्नानीसँगको सम्पर्क प्रयास पनि सफल हुन सकेन ।
मतियार बनेका डिलर कारबाहीमा पर्ने
भगवती लेमिनेट्सको ट्याक्स प्लानिङ (राजस्व छली) धन्दामा सहयोगी बन्दै आइरहेका डिलर पनि छानबिनमा पर्ने भएका छन् । काठमाडौं तथा काठमाडौंबाहिर रहेका डिलरले पनि भगवती लेमिनेट्ससँग कारोबार गर्दा संस्थाको नाममा चेक नकाटी व्यक्तिको नाममा चेक काटेर भुक्तानी दिँदा उनीहरू पनि राजस्व छली धन्दामा संलग्न रहेको देखिएको हो । राजस्व अनुसन्धान विभागले त्यस्ता डिलरमाथि पनि आवश्यकताअनुसार छानबिन र अनुसन्धान हुने बताएको छ ।
भगवती लेमिनेट्ससँग गैरकानुनी रूपमा कारोबार गर्दै आइरहेका डिलहरूको सूची राजधानीलाई प्राप्त हुने क्रम जारी छ । जसअनुसार भगवती लेमिनेट्ससँग गैरकानुनी कारोबार गर्ने डिलरहरूमा काठमाडौंका इभरग्रिन प्ले सेन्टर, लघु डोर एन्ड हार्डवेयर, नवदुर्गा प्ले हाउस, ओमकुमार प्लेउड, प्लेउड सेन्टर, समीक्षा इन्टरनेसनल वसुन्धारा, सुरज फर्निचर उद्योग सानेपा, त्रिपुरा प्ले हाउस लोकन्थली, आदित्य हार्डवेयर इन्टरप्राइजेज, तुलसी स्टिल्स मेसिनरी, विनिसा प्लेउड डोर्स सप्लायर्स, दुर्गा प्लेउड स्टोर्स, कालीनाग फर्निचरलगायत रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिकृया दिनुहोस