ओलीले आज दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।
कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको रिजालको भनाइ छ । अध्यक्ष ओलीले वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।
यसअघि आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिएका थिए । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस