पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने
काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।
मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको थियो । शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।
‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।
काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।
प्रतिकृया दिनुहोस