आज ९ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै, एमालेले दिएन टुंगो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार बिहानै सर्वदलीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार साँझ आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।तर, एमालेले अझैं आउने/नआउने केही बताएको छैन ।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनुअघि सत्ता गठबन्धनसँगै काँग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए ।
सुरुमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताउँदै देउवाले महामारीको समयमा निर्वाचन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका थिए ।
यता सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग पनि छलफल गर्ने भएको छ । स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
उनले भने, 'निर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ।'संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस